1राजाहरू 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब राजा दावीद धेरै वृद्ध भइसकेका थिए। तिनलाई जति लुगा ओढाइदिए तापनि तिनलाई न्यानो हुँदैनथ्यो।
2यसकारण तिनका सल्लाहकारहरूले तिनलाई भने, “राजालाई रेखदेख गर्न र उहाँको स्याहार-सुसार गर्नलाई हामी एउटी कन्ये-केटी खोजौँ। त्यो हाम्रा मालिक महाराजासँग सुतोस् र हजुरलाई न्यानो पारोस्।”
3तब तिनीहरूले इस्राएलभरि एउटी सुन्दरी कन्ये-केटीको खोजी गरे। अनि शूनेमबाट अबीशगलाई भेट्टाए, र त्यसलाई राजाकहाँ ल्याए।
4ती केटी अति सुन्दरी थिइन्। तिनले राजाको स्याहार-सुसार र सेवा गरिन्। तर राजाले तिनीसँग सहवास गरेनन्।
5त्यो समयमा दावीदका छोरा अदोनियाह, जसकी आमा हग्गीत थिइन्, तिनले अगि सरेर भने, “म राजा हुनेछु।” यसकारण तिनले रथहरू, घोडचढीहरू र आफ्ना अगि-अगि दौडनलाई पचास मानिसहरू ठिक पारे।
6तिनका पिता दावीदले “तँ किन यस्तो व्यवहार गर्छस्?” भनेर कहिल्यै पनि तिनलाई हस्तक्षेप गरेनन्। तिनी पनि अति सुन्दर थिए, र अब्शालोमको ठिक पछि जन्मेका थिए।
7अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबीयाथारलाई आफ्नो हातमा लिए। तिनीहरूले तिनलाई आफ्नो समर्थन दिए।
8तर पुजारी सादोक, यहोयादाका छोरा बनायाह, अगमवक्ता नातान, शिमी, रेई र दावीदका विशेष अङ्गरक्षकचाहिँ अदोनियाहसित सहमत भएनन्।
9तब अदोनियाहले एन-रोगेलको छेउमा भएको जोहेलेतको ढुङ्गामा भेडा, गाईबस्तु र पोसिएका बाछाहरू बलिदान गरे। तिनले राजाका छोराहरू, अर्थात् आफ्ना सबै दाजुभाइहरूलाई र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्त्याए।
10तर तिनले अगमवक्ता नातान, बनायाह, विशेष अङ्गरक्षक, अथवा तिनका भाइ सोलोमनलाई चाहिँ निम्त्याएनन्।
11तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के हग्गीतका छोरा अदोनियाह राजा भएको तिमीले सुनेकी छैनौ? यसको बारेमा तिम्रा स्वामी दावीदलाई थाहै छैन।
12अब तिमीले आफ्नो जीवन र तिम्रा छोरा सोलोमनको जीवन कसरी बचाउन सकिन्छ, सो म तिमीलाई सल्लाह दिनेछु।
13अब दावीद राजाकहाँ गएर तिनलाई यसो भन्नू, ‘मेरा स्वामी महाराजा, के तपाईंले म तपाईंकी सेविकालाई मपछि तिम्रो छोरा सोलोमन निश्चय नै राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ भनेर शपथ खानुभएको थिएन र? त्यसो भए अहिले अदोनियाह नै किन राजा भए त?’
14तिमी राजासित कुरा गर्दैगर्दा म भित्र आउनेछु, र तिमीले भनेको कुरामा म समर्थन गरिदिनेछु।”
15यसकारण बतशेबा वृद्ध भएका राजालाई भेट्न भित्र तिनको कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहार-सुसार गरिरहेकी थिइन्।
16तब बतशेबाले राजाको सामु निहुरेर दण्डवत् गरिन्। राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”
17तिनले राजालाई भनिन्, “मेरा प्रभु, हजुर आफैँले म तपाईंकी सेविकालाई ‘तिम्रो छोरा सोलोमन मपछि राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ’ भनी याहवेह तपाईंका परमेश्वरको नाममा शपथ खानुभएको थियो।
18तर अब अदोनियाह राजा भइसकेका छन् र हजुर मेरा प्रभु, महाराजालाई यो कुरा थाहै छैन।
19तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेर राजाका छोराहरूलाई, पुजारी अबीयाथारलाई र तपाईंका फौजका सेनापति योआबलाई निम्तो दिएका छन्। तर तिनले हजुरको सेवक सोलोमनलाई निम्त्याएका छैनन्।
20मेरा स्वामी महाराजा, हजुरपछि सिंहासनमा को बस्ने हो, सो जान्नलाई सारा इस्राएलले तपाईंतिर हेरिरहेका छन्।
21नत्रता मेरा स्वामी महाराजा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गर्नसाथ, म र मेरो छोरो सोलोमन अपराधीहरूझैँ गनिनेछौँ।”
22तिनी राजासित कुरा गर्दैगर्दा अगमवक्ता नातान आइपुगे।
23अनि तिनीहरूले राजालाई “अगमवक्ता नातान यहाँ हुनुहुन्छ” भनिदिए। यसकारण तिनी राजाको सामु गए; अनि भुइँतिर निहुरेर दण्डवत् गरे।
24नातानले भने, “के मेरा मालिक महाराजाले तपाईंपछि अदोनियाह राजा हुनेछन् र तिनी तपाईंको सिंहासनमा बस्नेछन् भनी घोषणा गर्नुभएको हो?
25आज तल गएर तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेका छन्। तिनले राजाका सबै छोराहरू, फौजका सेनापतिहरू र पुजारी अबीयाथारलाई पनि निम्त्याएका छन्। ठिक यसै बेला तिनीहरू उनीसित खाँदै, पिउँदै यसो भनिरहेका छन्, ‘राजा अदोनियाह अमर रहून्!’
26तर तिनले म तपाईंको सेवकलाई र पुजारी सादोकलाई अनि यहोयादाका छोरा बनायाहलाई र तपाईंको सेवक सोलोमनलाई निम्त्याएनन्।
27मेरा मालिक महाराजापछि उहाँको सिंहासनमा को बस्ने हो, भन्ने कुरा आफ्ना सेवकहरूलाई नबताई, के राजाले नै यसो गर्नुभएको हो?”
28तब राजा दावीदले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसकारण तिनी राजाको उपस्थितिमा आएर तिनको सामु उभिइन्।
29तब राजाले शपथ खाए: “मलाई प्रत्येक सङ्कष्टबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु,
30याहवेह इस्राएलका परमेश्वरको नाममा मैले तिमीसँग शपथ खाएको कुरा आज अवश्य म पालन गर्नेछु। तिम्रो छोरा सोलोमन नै मपछि राजा हुनेछ; अनि ऊ नै मेरो सट्टामा मेरो सिंहासनमा बस्नेछ।”
31तब बतशेबाले भुइँतिर निहुरेर राजाको सामु दण्डवत् गर्दै भनिन्, “मेरा प्रभु, महाराजा दावीद सदासर्वदा अमर रहून्!”
32दावीद राजाले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु आए,
33राजाले तिनीहरूलाई भने, “आफ्ना मालिकका सेवकहरूलाई आफूसित लैजाओ, र मेरो छोरा सोलोमनलाई मेरो आफ्नै खच्चरमा चढाएर तल गीहोनमा लैजाओ।
34त्यहाँ पुजारी सादोक र अगमवक्ता नातानले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तब तुरही फुक र ‘सोलोमन राजा अमर रहून्!’ भनेर कराओ।
35तब तिमीहरू उसित जाओ, र ऊ आएर मेरो सिंहासनमाथि बसोस्। अनि मेरो ठाउँमा शासन गरोस्। मैले त्यसलाई इस्राएल र यहूदामाथि शासन गर्न नियुक्त गरेको छु।”
36यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! याहवेह मेरा मालिक महाराजाका परमेश्वरले पनि यसरी नै घोषणा गरून्।
37जसरी याहवेह मेरा मालिक महाराजासित हुनुहुन्थ्यो, उहाँ सोलोमनको साथमा पनि होऊन् र तिनको सिंहासन मेरा मालिक महाराजा दावीदको भन्दा पनि महान् बनाऊन्!”
38यसकारण पुजारी सादोक, अगमवक्ता नातान यहोयादाका छोरा बनायाह, करेतीहरू र पेलेथीहरू तल झरे। तब सोलोमनलाई राजा दावीदको खच्चरमाथि चढाएर तिनलाई गीहोनसम्म सुरक्षापूर्वक लगे।
39पुजारी सादोकले पवित्र पालबाट तेलको सिङ लिए। अनि सोलोमनलाई अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले “राजा सोलोमन अमर रहून्!” भनेर कराए।
40तब सबै मानिसहरू सोलोमनको पछि-पछि बाँसुरीहरू बजाउँदै गए, र आनन्दको आवाज यति ठूलो थियो, कि त्यस आवाजको कारण जमिन पनि थर्कियो।
41अदोनियाह र तिनका सबै पाहुनाहरू भोज खाइसक्न लागेका थिए, तब अदोनियाह र तिनीसित भएका सबै पाहुनाहरूले त्यो आवाज सुने। तुरहीको आवाज सुनेर योआबले भने, “सहरमा भएको यो खैलाबैलाको अर्थ के हो?”
42तिनी बोलिरहेकै बेला अबीयाथार पुजारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्तो योग्य मानिसले असल खबर नै ल्याएको हुनुपर्छ।”
43जोनाथनले अदोनियाहलाई जवाफ दिए, “अहँ, पटक्कै होइन! हाम्रा मालिक राजा दावीदले सोलोमनलाई राजा बनाउनुभएको छ।
44अनि राजाले तिनीसित पुजारी सादोक, अगमवक्ता नातान, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ। अनि तिनीहरूले उनलाई राजाको खच्चरमा चढाएका छन्।
45पुजारी सादोक र अगमवक्ता नातानले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्। त्यहाँबाट तिनीहरू आनन्द मनाउँदै उकालो गएका छन्; र सहर पनि त्यससितै गुञ्जायमान भएको छ। तपाईंले सुन्नुभएको हल्ला यही हो।
46त्यति मात्र होइन, सोलोमनले आफ्नो आसन राज सिंहासनमाथि जमाएका छन्।
47राजकीय अधिकृतहरू पनि ‘तपाईंका परमेश्वरले सोलोमनको नाम तपाईंको नामभन्दा महान् बनाऊन्। उहाँको सिंहासन तपाईंको भन्दा महान् बनाऊन्’ भन्दै मालिक महाराजा दावीदलाई बधाई दिन आएका छन्! अनि आफ्नो पलङमा आराधनाकासाथ निहुरेर राजाले भने,
48‘याहवेह इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले आज मेरो सिंहासनमा एक जना उत्तराधिकारीलाई मेरो आँखाले देख्न दिनुभएको छ।’ ”
49यसमा अदोनियाहका सबै पाहुनाहरू आत्तिएर उठे, र यताउता लागे।
50तर अदोनियाहले चाहिँ सोलोमनको डरले गएर वेदीका सिङहरू पक्रे।
51तब सोलोमनलाई यसो भनियो, “अदोनियाह राजा सोलोमनसित डराएर वेदीका सिङहरू समातेर बसिरहेका छन्। तिनी भन्छन्, ‘राजा सोलोमनले उहाँको सेवकलाई तरवारले मार्नुहुनेछैन भनी मसित शपथ खाऊन्।’ ”
52सोलोमनले जवाफ दिए, “यदि तिनले आफूलाई योग्य मानिसझैँ देखाउँछन् भने तिनको टाउकाको एउटै केश पनि भुइँमा खस्नेछैन; तर तिनमा दुष्टता पाइयो भने तिनी मर्नेछन्।”
53तब राजा सोलोमनले मानिसहरू पठाए; अनि तिनीहरूले तिनलाई वेदीबाट तल ल्याए। अदोनियाहले आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “आफ्नो घरमा जाऊ!”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath