ईसाई धर्म
पछाडि

1राजाहरू 18

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1धेरै समयपछि तेस्रो वर्षमा याहवेहको यो वचन एलियाकहाँ आयो: “जा, र राजा आहाबको सामु आफूलाई उपस्थित गरा; अनि म देशमा पानी बर्साइदिनेछु।”

2यसकारण एलिया आफूलाई आहाबकहाँ उपस्थित गराउन गए। सामरियामा घोर अनिकाल परेको थियो।

3आहाबले राजमहलका प्रशासक ओबदियालाई बोलाउन पठाए। (ओबदिया याहवेहका एक भक्त विश्‍वासी थिए।

4ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेकी थिइन्, तब ओबदियाले एक सय जना अगमवक्ताहरूलाई लिएर तिनीहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाए र तिनीहरूलाई भोजन र पानी जुटाइदिएका थिए।)

5आहाबले ओबदियालाई भने, “देशमा भएका सबै पानीका मुहानहरू र खोल्साहरूमा जाऊ। सायद घोडाहरू र खच्‍चरहरूलाई जीवित राख्न हामीले केही घाँस पाउन सकौँला; ताकि हामीले आफ्नो कुनै पनि पशुहरूलाई गुमाउन नपरोस्।”

6यसकारण तिनीहरूले आ-आफू जानुपर्ने ठाउँलाई अलग गरे। तब आहाब एकातिर र ओबदिया अर्कोतिर लागे।

7ओबदिया बाटोमा जाँदै गर्दा एलियाले तिनलाई भेटे। ओबदियाले तिनलाई चिने। तिनले भुइँसम्म शिर निहुराएर उनलाई भने, “के तपाईं मेरा मालिक एलिया नै हुनुहुन्छ?”

8उनले जवाफ दिए, “हो म नै हुँ। जाऊ, गएर आफ्नो मालिकलाई एलिया यहाँ छन् भनिदेऊ।”

9तब ओबदियाले सोधे, “मैले के भूल गरेको छु र तपाईंले आफ्नो सेवकलाई मारिनको लागि आहाबकहाँ सुम्पँदै हुनुहुन्छ?

10याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मेरा मालिकले तपाईंलाई खोज्न भनी नपठाएको कुनै राज्य छैन। अनि जब ती राष्ट्र वा जातिले तपाईं त्यहाँ हुनुहुन्‍न भनी दाबी गरे, तब तिनले तिनीहरूलाई ‘हामीले त्यसलाई पाउन सकेनौँ’ भन भनेर शपथ खान लगाए।

11तर अब तपाईंले मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन्‍न लगाउनुहुन्छ।

12म तपाईंबाट गएपछि याहवेहको आत्माले तपाईंलाई कहाँ लानुहुन्छ, म जान्दिनँ। यदि मैले गएर आहाबलाई भनेँ, र तिनले तपाईंलाई भेट्टाउन सकेनन् भने तिनले मलाई मार्नेछन्। तर म तपाईंको सेवक आफ्नो बालककालदेखि नै याहवेहको आराधना गर्दैआएको छु।

13मेरा मालिक, जब ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेको बेला मैले के गरेँ, त्यो तपाईंलाई थाहा छैन? मैले याहवेहका एक सय जना अगमवक्ताहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाएँ, र तिनीहरूका निम्ति भोजन र पानी जुटाएँ।

14अनि अब तपाईं मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन भन्‍नुहुन्छ। तिनले त मलाई मार्नेछन्!”

15एलियाले भने, “जीवित सेनाहरूका याहवेह जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखेर भन्दछु, म आज निश्‍चय नै आहाबकहाँ देखा पर्नेछु।”

16यसकारण एलिया आएका छन् भनेर भन्‍नका लागि ओबदिया आहाबलाई भेट्न गए; र आहाब एलियालाई भेट्न गए।

17एलियालाई देखेर तिनले उनलाई भने, “के इस्राएललाई कष्‍ट दिने तिमी नै हौ?”

18एलियाले जवाफ दिए, “इस्राएललाई मैले कष्‍ट दिएको होइन। तर तपाईं र तपाईंका पिताका परिवारले चाहिँ कष्‍ट दिनुभएको छ। तपाईंहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर बाल-देवताहरूका पछि लाग्नुभएको छ।

19अब तपाईंले मलाई कर्मेल पर्वतमा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्। बालका ती चार सय अगमवक्ता, जसले ईजेबेलको टेबुलमा बसेर खाने गर्दछन्, तिनीहरूलाई पनि लिएर आउनुहोस्।”

20यसकारण आहाबले सारा इस्राएलभरि खबर पठाए। अनि ती अगमवक्ताहरूलाई कर्मेल पर्वतमा भेला गराए।

21एलिया मानिसहरूका सामु गएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा रहन्छौ? यदि याहवेह नै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्यसैलाई पछ्याओ।” तर मानिसहरूले तिनलाई केही पनि जवाफ दिएनन्।

22तब एलियाले तिनीहरूलाई भने, “याहवेहका अगमवक्ताहरूमध्ये बाँकी रहेको म मात्र हुँ, तर बालका त चार सय पचास जना अगमवक्ताहरू छन्।

23हाम्रा निम्ति दुई वटा साँढेहरू ल्याओ। तिनीहरूले एउटा आफ्नो लागि चुनून्, र त्यसलाई टुक्रा-टुक्रा गरी काटेर दाउरामाथि राखून्; तर आगोचाहिँ नलगाऊन्। म अर्को साँढेलाई तयार पार्छु, र त्यसलाई दाउरामाथि राख्नेछु; तर म पनि त्यसमा आगो लगाउँदिनँ।

24तिमीहरूले आफ्ना देवताहरूका नाम लिएर पुकार गर, र मचाहिँ मेरा याहवेहको नाम लिएर पुकार गर्नेछु। जुन देवताले आगोद्वारा जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्‍वर हुनुहुनेछ।” तब सबै मानिसहरूले भने, “तपाईंले भनेको कुरा ठिक हो।”

25एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू यति धेरै भएकाले पहिले तिमीहरूले नै एउटा साँढे चुनेर त्यसलाई तयार गर; तर आगोचाहिँ नलगाओ।”

26यसकारण तिनीहरूलाई दिइएको साँढे तिनीहरूले लगे, र त्यसलाई तयार पारे। तब तिनीहरूले बालको नाम लिएर बिहानदेखि मध्यदिनसम्म पुकार गरे। तिनीहरू यसो भन्दै चिच्याए, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।” तर केही जवाफ आएन, न त कसैले जवाफ नै दियो। तिनीहरू आफूले बनाएका वेदीका वरिपरि उफ्रँदै नाचिरहे।

27मध्यदिनमा एलियाले तिनीहरूलाई यसो भनेर खिसी गर्न थाले, “ठूलो सोरले चिच्याओ! त्यो त देवता नै हो! सायद ऊ गहिरो चिन्तनमा बसेका होला, वा कतै व्यस्त होला, अथवा कतै भ्रमण गर्न पो गएको होला कि? सायद, ऊ सुतिरहेको होला, र उसलाई बिउँझाउनैपर्छ।”

28यसकारण तिनीहरू ठूलो सोरले चिच्याउन थाले; अनि तिनीहरूका रीतिअनुसार रगत नबगुन्जेल आफूलाई तरवार र भालाले चोट पारे।

29मध्यदिन बितिगयो। बेलुकाको बलिदानको समयसम्म नै तिनीहरू बौलाहझैँ अगमवाणी गरिरहे। तर त्यहाँ न त केही जवाफ आयो, न त कसैले जवाफ नै दियो; त्यहाँ कसैले ध्यान दिएनन्।

30तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू सबै तिनको नजिक आए। तब तिनले याहवेहको भत्किएको वेदीलाई मर्मत गरे।

31“तेरो नाम इस्राएल हुनेछ” भनेर याहवेहको वचन आएअनुसार याकोबका सन्तानबाट प्रत्येक कुलको निम्ति एक-एक गरी एलियाले बाह्र वटा ढुङ्गाहरू लिए।

32ती ढुङ्गाहरूद्वारा तिनले याहवेहको नाममा एउटा वेदी बनाए; र तिनले त्यसको वरिपरि दुई सिहा बिउ अटाउने खाडल खने।

33तिनले दाउरा मिलाए, र त्यस साँढेलाई टुक्रा-टुक्रा पारे, र दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार वटा ठूला गाग्राहरूमा पानी भरेर त्यस बलिदान र दाउरामाथि खन्याइदेओ!”

34तिनले भने, “फेरि त्यस्तै गर!” तिनीहरूले फेरि त्यसै गरे। तिनले “तेस्रोपल्ट पनि त्यस्तै गर!” भनेर आज्ञा दिए। तिनीहरूले तेस्रोपल्ट पनि त्यसै गरे।

35पानी वेदीको चारैतिर बग्यो, र त्यस खाडललाई समेत भरिदियो।

36बलिदानको समयमा एलिया अगमवक्ता वेदीको अगि बढे, र यसरी प्रार्थना गरे: “हे याहवेह, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईं नै इस्राएलमा परमेश्‍वर हुनुहुन्छ। म तपाईंको सेवक हुँ, र मैले यी सबै तपाईंकै आदेशमा गरेको हुँ भनेर आज थाहा होस्।

37हे याहवेह, मलाई जवाफ दिनुहोस्, ताकि यी मानिसहरूले तपाईं नै याहवेह परमेश्‍वर हुनुहुन्छ र तपाईंले तिनीहरूका हृदय फेरि फर्काइदिनुहुनेछ भनी जान्‍नेछन्।”

38तब याहवेहको आगो झर्‍यो, र त्यो बलिदान, दाउरा, ढुङ्गाहरू र माटोलाई डढायो; अनि खाडलमा भएको पानीलाई पनि सुकाइदियो।

39जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू लम्पसार परे; अनि “याहवेह नै परमेश्‍वर हुनुहुन्छ! याहवेह नै परमेश्‍वर हुनुहुन्छ!” भनी कराए।

40तब एलियाले तिनीहरूलाई आज्ञा दिए, “बालका अगमवक्ताहरूलाई समात। एक जना पनि भाग्न नपाओस्!” तिनीहरूले उनीहरूलाई पक्रे; अनि एलियाले तिनीहरूलाई कीशोनको बेँसीमा ल्याउन लगाए, र तिनीहरूलाई त्यहाँ मारे।

41अनि एलियाले आहाबलाई भने, “गएर खानपिन गर्नुहोस्; किनकि मुसलधारे वर्षाको आवाज सुनिँदैछ।”

42यसकारण आहाब खानपिन गर्न गए। तर एलियाचाहिँ कर्मेलको टाकुरामा चढे; अनि भुइँसम्मै निहुरेर आफ्नो मुख आफ्ना घुँडाहरूको बीचमा राखे।

43तिनले आफ्नो सेवकलाई भने, “गएर समुद्रतिर हेर्।” अनि त्यो माथि गयो, र हेरेर भन्यो, “त्यहाँ केही पनि छैन।” एलियाले त्यसलाई सातपल्ट “फेरि फर्केर जा” भने।

44सातौँ पटकमा त्यस सेवकले “कुनै मानिसको हात जत्रो सानो एउटा बादल समुद्रबाट उठिरहेको छ” भन्‍ने खबर दियो। यसकारण एलियाले त्यसलाई भने, “गएर आहाबलाई भनिदे, ‘वर्षाले तपाईंलाई रोक्नुभन्दा पहिले आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्।’ ”

45त्यसै बेला आकाश बादलले कालो भयो; बतास चल्न थाल्यो, र मुसलधारे वर्षा हुन थाल्यो। अनि आहाब यिजरेलतर्फ सवार भए।

46याहवेहको शक्ति एलियामाथि आयो, अनि आफ्नो पेटीमा आफ्नो खास्टो कसेर तिनी आहाबको अगि-अगि यिजरेलसम्मै दगुरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath