1राजाहरू 17
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।”
2तब याहवेहको वचन एलियाकहाँ आयो:
3“यो ठाउँ छोडेर पूर्वपट्टि लाग्, र यर्दनको पूर्वपट्टि भएको करीतको खोल्सामा गएर लुकेर बस्।
4तैँले खोलाको पानी पिउनेछस्; र तँलाई खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”
5यसकारण याहवेहले भन्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वपट्टिको करीतको खोल्सामा गएर बसे।
6कागहरूले तिनलाई बिहान रोटी र मासु ल्याइदिन्थे; अनि साँझमा पनि रोटी र मासु ल्याइदिन्थे; र तिनले त्यस खोलाको पानी पिउँथे।
7केही समयपछि देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो।
8तब याहवेहको वचन तिनीकहाँ आयो:
9“झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।”
10यसकारण तिनी सारपतमा गए। तिनी त्यस सहरको मूलढोकामा आइपुग्दा त्यहाँ एउटी विधवा दाउरा बटुल्दै थिइन्। तिनले उनलाई बोलाएर सोधे, “कृपया तिमीले मलाई एउटा लोहोटामा अलिकति पानी ल्याइदिन्छौ कि ताकि म पिउन पाऊँ?”
11ती विधवा पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “अनि दया गरी मलाई एक टुक्रा रोटी पनि ल्याइदेऊ।”
12तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।”
13एलियाले उनलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर तिमीसित जे छ, पहिले त्यसबाट मेरा निम्ति एउटा रोटी पकाएर मकहाँ ल्याऊ; अनि त्यसपछि तिमी र तिम्रो छोराका निम्ति केही बनाऊ!
14किनकि याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘याहवेहले यस देशमा वर्षा नपठाउनुभएसम्म भाँडाको पिठो र ढुङ्ग्रोको तेल रित्तिनेछैन।’ ”
15अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्यो।
16किनकि एलियाद्वारा याहवेहले भन्नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।
17केही समयपछि त्यस घरकी मालिक्नीको छोरा बिरामी भयो; अनि त्यो यति साह्रो हुँदैगयो, कि आखिरमा त्यसले सास फेर्नै छोड्यो।
18तिनले एलियालाई भनिन्, “हे परमेश्वरका जन, तपाईंले मेरो विरुद्धमा किन यस्तो गर्नुभयो? के तपाईं मेरो पाप सम्झना गराउन र मेरो छोरालाई मार्न भनी मकहाँ आउनुभएको हो?”
19एलियाले जवाफ दिए, “तिम्रो छोरा मलाई देऊ।” तिनले त्यस केटोलाई उनका हातबाट लिए, र आफू बस्ने माथिल्लो कोठामा लगेर त्यसलाई आफ्नो ओछ्यानमा सुताए।
20तब तिनले याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्वर, म जुन विधवासित बस्दैछु, तिनको छोरालाई मारेर किन उनीमाथि पनि यो विपत्ति ल्याउनुभएको हो?”
21तब तिनी तीनपल्ट त्यस केटोमाथि लमतन्न भई पस्रे; र याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्वर, यस बालकको प्राण ऊसभित्र फेरि फर्केर आओस्!”
22याहवेहले एलियाको पुकार सुन्नुभयो; अनि त्यस बालकको प्राण त्यसकहाँ फर्केर आयो, र त्यो जिउँदो भयो।
23अनि एलियाले त्यस बालकलाई उठाएर कोठाबाट बोकेर तल ल्याए; अनि त्यसकी आमालाई दिएर भने, “हेर, तिम्रो छोरा जीवितै छ!”
24तब ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्वरका जन हुनुहुन्छ; अनि तपाईंको मुखबाट निस्केको याहवेहको वचन सत्य रहेछ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath