ईसाई धर्म
पछाडि

1राजाहरू 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1नबातका छोरा यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए।

2तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।

3तिनले आफूअगिका तिनका पिताले गरेका सबै पापहरू गरे। तिनको हृदय तिनका पुर्खा दावीदको झैँ याहवेहप्रति सम्पूर्ण रूपले समर्पित थिएन।

4तैपनि दावीदको खातिर याहवेह तिनका परमेश्‍वरले उहाँको उत्तराधिकारी हुनको लागि एउटा छोरा दिनुभएर यरूशलेममा एउटा बत्ती दिनुभयो, अनि यरूशलेमलाई बलियो बनाउनुभयो।

5किनकि दावीदले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरेका थिए। तिनले आफ्नो जीवनकालभरि हित्ती उरियाहको विषयमा बाहेक याहवेहका कुनै आज्ञापालन गर्न चुकेका थिएनन्।

6अबीयाहको जीवनकालभरि रहबाम र यारोबामको बीचमा लडाइँ भइरह्‍यो।

7अबीयाहको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा ती यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। अबीयाह र यारोबामको बीचमा निरन्तर युद्ध भइरह्‍यो।

8अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए।

9इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए।

10तिनले यरूशलेममा एकचालीस वर्ष राज्य गरे। तिनकी हजुरआमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।

11आसाले आफ्ना पिता दावीदले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

12तिनले देशबाट देवस्थानहरूमा भएका देवदासहरूलाई निकालिदिए। देशलाई आफ्ना पिताले बनाएका मूर्तिहरूदेखि मुक्त गरे।

13राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।

14तिनले अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।

15तिनले याहवेहको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।

16आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्‍यो।

17इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्‍न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।

18तब आसाले याहवेहको मन्दिरभित्र र आफ्नै महलभित्र भएका सबै चाँदी र सुन लिए। तिनले त्यसलाई आफ्ना अधिकारीहरूको जिम्मामा सुम्पेर तिनीहरूलाई दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ पठाइदिए। बेन-हदद तब्रिमोनका छोरा र हेज्योनका नाति थिए।

19तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ उपहारस्वरूप चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”

20तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनले नप्‍ताली सहित इयोन, दान, हाबिल-बेथ-माका र सम्पूर्ण किन्‍नरेतलाई कब्जा गरे।

21बाशाले यो सुनेपछि रामालाई निर्माण गर्न छोडिदिए, र तिर्सामा फर्के।

22तब राजा आसाले कसैलाई पनि नछोडी सारा यहूदामा एउटा हुकुम जारी गरे। तिनीहरूले बाशाले रामामा प्रयोग गर्दै गरेका ढुङ्गाहरू र काठहरू बोकेर लगे। ती सामानद्वारा राजा आसाले बेन्यामीनमा गेबा र मिस्पा बनाए।

23राजा आसाका जीवनकालका अरू घटनाहरू, तिनका सारा उपलब्धीहरू तिनले गरेका सबै कामहरू र तिनले बनाएका सहरहरूका विषयमा यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। तैपनि तिनको वृद्धावस्थामा तिनका खुट्टामा रोग लाग्यो।

24तब आसा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, अनि तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोशापात राजा भए।

25यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। उनले इस्राएलमा दुई वर्ष राज्य गरे।

26उनले याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई उनका पिताले गर्न लगाएका पापमा चलेर उनी तिनकै चालमा हिँडे।

27इस्साखारको घरानाको अहीयाहका छोरा बाशाले तिनको विरुद्धमा षड्यन्त्र रचे। अनि नादाब र सारा इस्राएलले पलिश्ती सहरलाई घेरा हालेको बेला उनले तिनलाई प्रहार गरेर मारे।

28यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि उनी राजा भए।

29बाशाले शासन गर्न थाल्नसाथ तिनले यारोबामको सम्पूर्ण परिवारलाई मारे। तिनले यारोबामका सास फेर्ने एउटैलाई पनि बाँकी राखेनन्। तर याहवेहको सेवक शीलोनी अहीयाहद्वारा उहाँले भन्‍नुभएको वचनअनुसार तिनीहरू सबैलाई नष्‍ट गरिदिए।

30योचाहिँ यारोबामले गरेको पाप र तिनले इस्राएललाई गर्न लगाएको पापको कारणले अनि तिनले याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाएको कारणले गर्दा नै भएको थियो।

31नादाबको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।

32आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्‍यो।

33यहूदाका राजा आसाको तेस्रो वर्षमा अहीयाहका छोरा बाशा तिर्सामा सम्पूर्ण इस्राएलका राजा भए। तिनले चौबीस वर्ष राज्य गरे।

34तिनले याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो, त्यही गरे; र यारोबामका मार्गहरूमा र उनका पापहरूमा हिँडे; जुन पापहरूद्वारा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath