ईसाई धर्म
पछाडि

1राजाहरू 14

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यस बेला यारोबामको छोरा अबीयाह बिरामी भयो।

2यारोबामले आफ्नी पत्नीलाई भने, “जाऊ, आफ्नो भेष बदल, ताकि तिमी यारोबामकी पत्नी हौ भनी मानिसहरूले नचिनून्। त्यसपछि शीलोमा जाऊ, जहाँ मलाई ‘तिमी यी मानिसहरूमाथि राजा हुनेछौ’ भन्‍ने अगमवक्ता अहीयाह छन्।

3तिम्रो साथमा दश वटा रोटी, केही फुरौलाहरू र एक भाँडो मह लिएर तिनीकहाँ जाऊ। अनि हाम्रो छोरालाई के हुनेछ, सो तिनले बताइदिनेछन्।”

4यसकारण यारोबामकी पत्नीले तिनले भनेझैँ गरिन्, र शीलोमा अहीयाहको घरमा गइन्। त्यस बेला अहीयाहले देख्न सक्दैनथिए; किनकि वृद्धावस्थाले गर्दा तिनका आँखा धमिलिएका थिए।

5तर याहवेहले अहीयाहलाई भन्‍नुभएको थियो, “यारोबामकी पत्नी आफ्नो बिरामी छोराको विषयमा तँलाई सोध्न आउँदैछे। तैँले त्यसलाई यस्तो जवाफ दिनू। त्यो आउँदा आफूलाई अरू कोही हुँ भनी भान पार्नेछे।”

6यसकारण तिनको खुट्टाको आवाज सुनेर अहीयाहले भने, “हे यारोबामकी पत्नी, भित्र आऊ। यस्तो बहाना किन गर्दैछ्यौ? म तिमीलाई एउटा खराब खबर दिन पठाइएको छु।

7जाऊ, गएर यारोबामलाई भन, कि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तँलाई मानिसहरूबाट मैले खडा गरेँ, र तँलाई मेरा जाति इस्राएलमाथि अगुवा बनाएँ।

8मैले दावीदको घरानाबाट राज्य खोसेँ, र त्यो तँलाई दिएँ। तर तँ मेरा सेवक दावीदजस्तो भइनस्, जसले मेरा आज्ञाहरू पालन गर्‍यो, र मेरो दृष्‍टिमा जे ठिक थियो, त्यही मात्र गर्नलाई आफ्नो सम्पूर्ण हृदयले मलाई पछ्यायो।

9तर तँभन्दा अगिका सबैभन्दा बढी दुष्‍टता तैँले गरिस्। तैँले आफ्ना निम्ति अरू देवताहरू र ढालेर बनाइएका धातुका मूर्तिहरू बनाइस्। तैँले मलाई रिस उठाएको छस्, र मलाई आफ्नो पिठिउँ फर्काएको छस्।

10“ ‘त्यसैले म यारोबामको घरानामा विपत्ति ल्याउँदैछु। म यारोबामबाट कमारा होस् वा फुक्‍का होस्; इस्राएलका प्रत्येक पुरुषलाई नाश गर्नेछु। म यारोबामको घरलाई कसैले गोबर जलाएझैँ ती सबै भस्म नभएसम्म जलाइदिनेछु।

11यारोबामका जोसुकै होस्, ती सबै सहरमा मर्नेछन्। तिनीहरूलाई कुकुरहरूले खानेछन्। सहरदेखि बाहिर मर्नेहरू सबैलाई आकाशका पक्षीहरूले खानेछन्। याहवेहले भन्‍नुभएको छ!’

12“तिमीचाहिँ घर फर्केर जाऊ। जब तिमीले आफ्नो सहरमा पाइला टेक्नेछौ, तब त्यो बालक मर्नेछ।

13सारा इस्राएलले त्यसका निम्ति बिलौना गर्नेछ र त्यसलाई गाड्नेछ। यारोबामको सन्तानमा त्यो एक जना मात्र गाडिनेछ; किनकि यारोबामको घरानाबाट त्यसमा मात्र याहवेह इस्राएलका परमेश्‍वरले केही असल पाउनुभएको छ।

14“याहवेहले आफ्नै निम्ति इस्राएलमाथि एउटा राजा खडा गर्नुहुनेछ, जसले यारोबामको परिवारलाई सखाप पार्नेछ। त्यो आजै हुनेछ! अहिले नै हुनेछ।

15याहवेहले इस्राएलमाथि प्रहार गर्नुहुनेछ, र त्यो पानीमा यताउता हल्‍लिरहने निगालोझैँ हुनेछ। उहाँले इस्राएललाई तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उखेल्नुहुनेछ। तिनीहरूलाई नदीपारि तितरबितर गरिदिनुहुनेछ। किनकि तिनीहरूले अशेरा देवीका खम्बाहरू बनाएर याहवेहलाई रिस उठाएका छन्।

16उहाँले यारोबामले गरेका पापहरूको कारण र तिनले इस्राएललाई गर्न लगाएका पापहरूको कारण इस्राएललाई त्याग्नुहुनेछ।”

17तब यारोबामकी पत्नी उठिन् र तिर्सामा गइन्। तिनले आफ्नो घरको सँघारमा पाइला टेक्नसाथ त्यो केटो मर्‍यो।

18याहवेहले आफ्नो सेवक अगमवक्ता अहीयाहद्वारा भन्‍नुभएझैँ तिनीहरूले त्यसलाई गाडे; अनि सारा इस्राएलले त्यसका निम्ति शोक गरे।

19यारोबामको शासनका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र तिनले कसरी शासन गरे, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।

20तिनले बाइस वर्ष राज्य गरे, अनि आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनीपछि तिनका छोरा नादाब राजा भए।

21यहूदामा सोलोमनका छोरा रहबाम राजा थिए। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।

22यहूदाले याहवेहको दृष्‍टिमा दुष्‍टता गर्‍यो। तिनीहरूले गरेका पापहरूद्वारा तिनीहरूले उहाँलाई आफ्ना पितापुर्खाहरूले भन्दा बढी डाही तुल्याए।

23तिनीहरूले आफ्नो लागि प्रत्येक अग्लो डाँडामा र प्रत्येक झ्याम्म परेको रूखमुनि अल्गा देवस्थानहरू, पवित्र ढुङ्गाहरू, अशेराका खम्बाहरू खडा गरे।

24देशमा पूजा गर्ने देवस्थानहरूमा देवदासहरू पनि थिए। इस्राएलीहरूको सामुबाट याहवेहद्वारा धपाइएका जातिहरूका घिनलाग्दा रीतिहरू गर्न मानिसहरू व्यस्त थिए।

25राजा रहबामको पाँचौँ वर्षमा इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरे।

26तिनले याहवेहको मन्दिर र राजमहलका बहुमूल्य चीजहरू लुटेर लगे। सोलोमन राजाले बनाएका सुनका ढालहरू लगायत प्रत्येक कुरो तिनले लुटेर लगे।

27यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।

28राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।

29रहबामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै विषयमा ती यहूदाका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।

30रहबाम र यारोबामका बीचमा निरन्तर युद्ध भइरह्‍यो।

31अनि रहबाम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनकी आमाको नाम नामा थियो, जो एक अम्मोनी थिइन्। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath