ईसाई धर्म
पछाडि

1 यूहन्‍ना 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।

2प्रिय मित्रहरू हो, अहिले हामी परमेश्‍वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्‍ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।

3यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।

4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो।

5तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो, र उहाँमा कुनै पाप छँदैछैन।

6उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई न देखेको हुन्छ, न त चिनेको नै हुन्छ।

7हे प्यारा साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठिक काम गर्छ, त्यो धार्मिक हो; जस्तो उहाँ धार्मिक हुनुहुन्छ।

8जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो।

9परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बिउ त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो।

10परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्‍वरको सन्तान होइन।

11तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।

12कयिनजस्तो नहोओ, जो दुष्‍टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्‍यो। त्यसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि त्यसका आफ्ना कामहरू दुष्‍ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए।

13त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान।

14हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।

15हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ।

16प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।

17यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?

18प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।

19त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौँ।

20जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ।

21प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामु हामीलाई साहस हुन्छ;

22अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौँ।

23अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।

24जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath