1 कोरिन्थी 14
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तिमीहरूले प्रेमलाई लक्ष्य बनाओ र आत्मिक वरदानहरूको उत्कट इच्छा गर; विशेष गरेर अगमवाणी बोल्नका लागि।
2किनकि जसले अज्ञात भाषामा बोल्दछ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। वास्तवमा उसले के भन्दैछ कसैले बुझ्दैन; उसले आत्माद्वारा परमेश्वरका रहस्यका कुराहरू बोल्दछ।
3तर जसले अगमवाणी गर्दछ, उसले मानिसहरूसँग बोल्दछ; उनीहरूको आत्मिक सुधार, उत्साह र सान्त्वनाको लागि बोल्दछ।
4जसले अज्ञात भाषामा बोल्दछ, उसले आफ्नो आत्मिक वृद्धि गर्छ; तर जसले अगमवाणी बोल्छ, उसले मण्डलीको आत्मिक वृद्धि गर्छ।
5तिमीहरू हरेकले अज्ञात भाषाहरूमा बोलेको म चाहन्छु, तर अज्ञात भाषाहरूभन्दा अझ बढी तिमीहरूले अगमवाणी बोलेको चाहन्छु। मण्डलीको आत्मिक वृद्धिका निम्ति कसैले अर्थ खोलिदिएन भने अज्ञात भाषाहरूमा बोल्ने व्यक्तिभन्दा अगमवाणी बोल्ने व्यक्ति श्रेष्ठ हो।
6अब दाजुभाइ-दिदीबहिनीहरू हो, यदि म तिमीहरूकहाँ अज्ञात भाषाहरूमा बोल्दैआएँ, तर तिमीहरूका बीचमा केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा मैले बताइनँ भने मबाट तिमीहरूका लागि के फाइदा हुनेछ र?
7बाँसुरी वा वीणाजस्ता निर्जीव वस्तुहरूले पनि धुन निकाल्छन्। तर यदि ती वस्तुहरू बज्दा भिन्नाभिन्नै धुन निस्केन भने के बजिरहेको छ, कसरी धुन छुट्ट्याउने?
8यदि तुरहीले पनि स्पष्ट धुन निकालेन भने युद्धको लागि को तयार हुने?
9तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। यदि तिमीहरूले अज्ञात भाषामा बुझ्न नसकिने शब्दहरूमा बोल्यौ भने तिमीहरूले के भनिरहेका छौ अरूले कसरी बुझ्ने? यसो गर्दा तिमीहरूले त हावामा बोलिरहेझैँ हुनेछौ।
10यो साँचो हो कि संसारमा धेरै किसिमका भाषाहरू छन्, तरै पनि तीमध्ये कुनै पनि भाषा अर्थविनाका छैनन्।
11यदि कसैले बोलेको भाषाको अर्थ मैले बुझ्न सकिनँ भने बोल्ने व्यक्तिको निम्ति म परदेशी ठहरिनेछु, र त्यो बोल्ने व्यक्तिचाहिँ मेरो निम्ति परदेशी ठहरिनेछ।
12तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति तिर्सना गर्दछौ, ती वरदानहरूमा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर, जुन कुराले मण्डलीको उन्नति गराउँछ।
13यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ।
14किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरेँ भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ।
15यसकारण मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, र म आफ्नो समझले पनि प्रार्थना गर्नेछु; म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो समझले पनि गीत गाउनेछु।
16यदि तिमीहरूले आत्मामा मात्र परमेश्वरको प्रशंसा गरिरहेका हुन्छौ भने तिमीहरूका बीचमा बाहिरका उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्लान् त? किनकि तिमीहरूले भनिरहेका कुरा तिनीहरूले बुझेका हुँदैनन्।
17तिमीहरूको धन्यवादको प्रार्थना एकदमै राम्रो होला, तर त्यस प्रार्थनाले अर्को व्यक्तिको लागि केही आत्मिक वृद्धि हुँदैन।
18म परमेश्वरलाई धन्यवाद दिन्छु, तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरू बोल्दछु।
19तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो समझले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।
20दाजुभाइ-दिदीबहिनीहरू हो, बालकहरूले जस्तो सोच्न छोडिदेओ। तिमीहरू खराबीको लागि चाहिँ शिशुहरूजस्तै बन, तर सोचविचारमा चाहिँ परिपक्व मानिसझैँ बन।
21व्यवस्थामा यसरी लेखिएको छ: “अन्य भाषाहरूमा र विदेशीहरूका मुखहरूद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तरै पनि तिनीहरूले मेरा कुरा सुन्नेछैनन्,” प्रभु भन्नुहुन्छ।
22यसकारण अज्ञात भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर विश्वास नगर्नेहरूका निम्ति चिन्ह हो; तर अगमवाणीचाहिँ विश्वास नगर्नेहरूका लागि होइन, तर विश्वासीहरूका लागि हो।
23यसकारण सारा मण्डली एकसाथ भेला हुँदा सबैले अज्ञात भाषाहरूमा बोलिरहँदा, यदि जिज्ञासुहरू वा विश्वास नगर्नेहरू कोही मण्डलीमा आएका छन् भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?
24तर यदि मण्डलीमा हरेकले अगमवाणी बोलिरहेको बेला कोही विश्वास नगर्नेहरू अथवा जिज्ञासुहरू भित्र आए भने उनीहरूलाई आफ्ना पापको अनुभूति हुनेछ र सुनेका सबैद्वारा उनीहरू जाँचिनेछन्।
25अनि उनीहरूका हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्। यसकारण उनीहरूले परमेश्वरलाई दण्डवत् गर्नेछन्, र यसो भन्दै प्रशंसा गर्नेछन्, “साँच्चै नै परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ!”
26तब दाजुभाइ-दिदीबहिनीहरू हो, हामी के भनौँ त? जब तिमीहरू एकसाथ भेला हुन्छौ, कोहीसँग भजन अथवा कोहीसँग शिक्षा, कोहीसँग प्रकाश, कोहीसँग अज्ञात भाषा अथवा कोहीसँग यसको अर्थ खोलाइ हुन्छ। यी सबै कुराहरू मण्डलीको आत्मिक वृद्धिको लागि गरिऊन्।
27तर यदि कसैले अज्ञात भाषामा बोल्छ भने दुई वा बढीमा तीन जनाले पालोअनुसार बोलून् र एक जनाले त्यसको अर्थ खोलोस्।
28तर यदि अर्थ खोल्ने व्यक्ति कोही भएन भने अज्ञात भाषा बोल्ने व्यक्ति मण्डलीमा चुप लागोस्, र आफैँसँग र परमेश्वरसँग बोलोस्।
29अगमवाणी बोल्नेहरूचाहिँ दुई वा तीन जना होऊन्, र अरूले तिनीहरूले भनेका कुरा होसियारसाथ जाँचून्।
30यदि त्यही समय छेवैमा बस्ने कुनै एक जनालाई केही प्रकाश दिइयो भने पहिलो वक्ताचाहिँ चुप लागोस्।
31तिमीहरू सबैले पालैपालोसँग अगमवाणी बोल्न सक्छौ। यसरी हरेकलाई शिक्षा र उत्साह मिलोस्।
32अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।
33परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। पवित्र जनहरूका सबै मण्डलीहरूमा भएजस्तै,
34स्त्रीहरू मण्डलीहरूमा चुपचाप बसून्। तिनीहरूलाई बोल्ने अनुमति छैन। व्यवस्थाले भनेअनुसार तिनीहरू अधीनमा बसून्।
35यदि तिनीहरू केही कुरा सिक्न चाहे भने घरमा आफ्ना पतिहरूलाई सोधून्; किनभने मण्डलीमा सभा हुँदा स्त्रीहरूका लागि बोल्नुचाहिँ शर्मको कुरा हो।
36के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो वचन आएको हो?
37यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक वरदान पाएको व्यक्ति हुँ भनी सम्झन्छ भने मैले तिमीहरूलाई जे लेखिरहेछु, त्यो प्रभुकै आज्ञा हो भनी स्वीकार गरोस्।
38तर कसैले यो आज्ञाको वास्ता गर्दैन भने तिनीहरूको पनि वास्ता गरिनेछैन।
39यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, उत्कटसाथ अगमवाणी बोल्ने इच्छा राख र अज्ञात भाषाहरूमा बोल्नेहरूलाई मनाही नगर।
40तर सबै कुरा शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गमा गरिएको हुनुपर्दछ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath