ईसाई धर्म
पछाडि

1 कोरिन्थी 11

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मेरो अनुकरण गर, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु।

2म तिमीहरूको प्रशंसा गर्दछु; किनकि तिमीहरूले मलाई हरेक कुरामा सम्झना गर्दछौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ।

3तर म तिमीहरूले यो कुरा बुझ भन्‍ने चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्‍ट हुनुहुन्छ र हरेक स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्‍टको शिरचाहिँ परमेश्‍वर हुनुहुन्छ।

4हरेक पुरुष जसले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरलाई अनादर गर्दछ।

5तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्दछे भने उसले आफ्नो शिरलाई अनादर गर्दछे। योचाहिँ उसको केश खौरिएकै बराबर हो।

6किनकि यदि स्त्रीले आफ्नो शिरमा घुम्टो हाल्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिरलाई घुम्टो हाल्नुपर्छ।

7पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन; किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो।

8किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो।

9पुरुष स्त्रीका निम्ति सृजिएको होइन, तर स्त्रीचाहिँ पुरुषका निम्ति सृजिएकी हो।

10यसैकारण स्वर्गदूतहरूको कारणले गर्दा पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिरलाई घुम्टोले ढाकेको हुनुपर्छ।

11तरै पनि प्रभुमा न त स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे, न पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ।

12किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्‍वरबाट नै आउँदछन्।

13तिमीहरू आफैँ विचार गर: के स्त्रीले शिरमा घुम्टो नढाकीकन परमेश्‍वरसँग प्रार्थना गर्न सुहाउँछ र?

14यदि मानिसले लामो केश राख्यो भने यो उसका लागि शर्मको कुरा हो भनी के प्रकृति आफैँले पनि तिमीहरूलाई सिकाउँदैन र?

15तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो; किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो।

16यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न त परमेश्‍वरको मण्डलीहरूसँग नै छ।

17यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ; किनकि तिमीहरू आराधना सभाहरूमा असलभन्दा पनि अझ खराबीको लागि भेला हुन्छौ।

18पहिलो कुरा यो हो, कि जब तिमीहरू मण्डलीमा एकसाथ भेला हुन्छौ, तब तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुन्‍ने गरेको छु; अनि म यस कुरालाई केही मात्रामा विश्‍वास पनि गर्दछु।

19वास्तवमा तिमीहरूका बीचमा मतभेद हुन जरुरी पनि छ, ताकि तिमीहरूमध्ये विश्‍वासयोग्य मानिसहरू चिनिन सकियोस्।

20यसकारण जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ;

21किनकि जब खाना खाने बेला हुन्छ, तब तिमीहरू कति जना अरूलाई नपर्खी आफ्नो निजी खानेकुरा खान थाल्छौ; र कोहीचाहिँ भोकै रहन्छ भने कोहीचाहिँ मद्यले मात्छन्।

22खान र पिउनका लागि के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्‍वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्‍चय नै यो कुरामा गर्दिनँ!

23किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: अर्थात् जुन रात येशूलाई धोका दिइएको थियो, त्यो रात उहाँले रोटी लिनुभयो,

24र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्‍नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।”

25त्यसै गरी रोटी खाइसक्नुभएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर।”

26किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ।

27यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र उहाँको रगतलाई अपवित्र पारिएकोमा दोषी ठहरिनेछ।

28यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्।

29किनकि जसले ख्रीष्‍टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।

30यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्।

31तर यदि हामीले आफैँलाई जाँचेका छौँ भने हामी त्यस्तो दण्डमा पर्नेछैनौँ।

32तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौँ, तब उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔँ।

33यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, जब तिमीहरू खानका निम्ति एकसाथ भेला हुन्छौ, तब एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर।

34यदि कोही भोको छ भने घरबाटै उसले केही खानेकुरा खाएर आओस्, नत्रता न्यायका निम्ति तिमीहरू एकसाथ भेला हुनेछौ। अनि अरू कुराहरूका बारेमा चाहिँ म तिमीहरूकहाँ आएको बेला नै मिलाउनेछु।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath