ईसाई धर्म
पछाडि

1 कोरिन्थी 10

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्‍ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्‍ने म चाहन्‍नँ।

2तिनीहरू सबै जनाको बादल र समुद्रमा बप्‍तिस्मा भएर मोशासँग जोडिए।

3तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए,

4अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्‍ट हुनुहुन्थ्यो।

5तरै पनि परमेश्‍वर तिनीहरूमध्ये धेरैसँग प्रसन्‍न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।

6हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्‍ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।

7तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्न उठे।”

8हामी यौन अनैतिकतामा फस्‍नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।

9हामीले ख्रीष्‍टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे।

10तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए।

11तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ।

12यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।

13मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।

14यसकारण मेरा प्रिय मित्रहरू हो, मूर्तिपूजाबाट अलग बस।

15म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरालाई आफैँले जाँचेर हेर।

16त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्‍टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्‍टको शरीरको सहभागिता होइन र?

17एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ।

18इस्राएलका मानिसहरूलाई विचार गर; चढाइएको बलिदानका थोक खानेहरू, के तिनीहरू वेदीमा सहभागी भएनन् र?

19त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त?

20होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्‍वरलाई होइन, भूतआत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूतआत्माहरूसँग सहभागी होऔ भन्‍ने म चाहँदिनँ।

21तिमीहरूले परमेश्‍वरको कचौराबाट र भूतआत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ। तिमीहरू परमेश्‍वरको टेबुल र भूतआत्माहरूको टेबुल, दुवैमा भाग लिन सक्दैनौ।

22के हामीले परमेश्‍वरको क्रोधलाई जगाउन खोजिरहेका छौँ? के हामी उहाँभन्दा शक्तिशाली छौँ?

23सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्‍नति गराउँदैनन्।

24तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।

25मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ;

26किनकि, “पृथ्वी र यसमा भएका सबै थोक प्रभुकै हुन्।”

27यदि कुनै अविश्‍वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, र तिमीहरूले जाने चाहना गर्‍यौ भने तिमीहरूको अगि जे कुराहरू राखिन्छ, त्यो विवेकका खातिर केही नसोधीकन खाओ।

28तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भन्छ भने त्यस बताउने मानिसको खातिर र दुवैको विवेकको खातिर त्यसलाई नखाओ।

29मैले अर्को मानिसको विवेकको खातिर भन्‍न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रताको न्याय अरूको विवेकद्वारा किन जाँच्नु?

30यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने जुन कुराका लागि मैले परमेश्‍वरलाई धन्यवाद चढाउँछु, तब त्यसका लागि मेरो निन्दा किन गरिन्छ?

31यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्‍वरका महिमाको निम्ति गर।

32तिमीहरू कसैलाई पनि ठेस लाग्ने काम नगर, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्‍वरको मण्डलीलाई होस्।

33जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ होइन, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath