ईसाई धर्म
पछाडि

1 इतिहास 29

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब राजा दावीदले सारा समुदायलाई भने: “परमेश्‍वरले चुन्‍नुभएको मेरो छोरा सोलोमन, त्यो कलिलो र अनुभवहीन छ। तर त्यसले गर्नुपर्ने काम ठूलो छ; किनकि यो भवन मानिसहरूका निम्ति होइन, तर याहवेह परमेश्‍वरका निम्ति हो।

2मैले आफ्नो शक्तिले भ्याएसम्म मेरा परमेश्‍वरको भवनका निम्ति आवश्यक सरसामानहरू सकभर जुटाएको छु—सुनका कामको निम्ति सुन, चाँदीका निम्ति चाँदी, काँसाको निम्ति काँसा, फलामको निम्ति फलाम र काठको निम्ति काठ। यसकासाथै जडान जड्न गोमेद, नीलमणि, विभिन्‍न रङ्गका बहुमूल्य पत्थरहरू, विभिन्‍न प्रकारका ढुङ्गाहरू र सिङ्गमरमरहरू, सबै कुराहरू प्रशस्त मात्रामा छन्।

3यसबाहेक मेरा परमेश्‍वरको मन्दिरका निम्ति मेरो गहिरो अभिरुचि भएकोले माथि जुटाएका सबै कुराहरूभन्दा धेरै आफ्ना व्यक्तिगत भण्डारबाट सुन र चाँदी मैले यस पवित्र मन्दिरका निम्ति दिएको छु;

4अर्थात् भवनको भित्ताहरू मोहोर्न अर्थात् सिगार्नलाई तीन हजार टालेन्ट सुन (ओपीरको सुन) र सात हजार टालेन्ट खारिएको चाँदी,

5सुन र चाँदीको कामका निम्ति र कारिगरहरूले गर्नुपर्ने सबै कामका निम्ति दिएको छु। अब आजको दिन याहवेहकहाँ आफूलाई अर्पण गर्न को राजी छ?”

6तब परिवारहरूका अगुवाहरू, इस्राएल कुलहरूका अधिकारीहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू; अनि राजाको कामको जिम्मामा खटिएका अधिकृतहरूले राजीखुशीसाथ दिए।

7तिनीहरूले परमेश्‍वरको मन्दिरका कामको निम्ति पाँच हजार टालेन्ट सुन, दश हजार दारिक सुन र दश हजार टालेन्ट चाँदी, अठार हजार टालेन्ट काँसा र एक लाख टालेन्ट फलाम दिए।

8बहुमूल्य पत्थरहरू हुनेहरूले त्यो गेर्शोनी यहीएलको जिम्मामा रहेका याहवेहको मन्दिरको भण्डारमा दिए।

9मानिसहरूले तिनीहरूका अगुवाहरूलाई राजीखुशीसाथ दिएकोमा खुशी भए; किनकि तिनीहरूले राजीखुशी र सम्पूर्ण हृदयले याहवेहलाई दिएका थिए। राजा दावीद पनि साह्रै आनन्दित भए।

10दावीदले सारा समुदायको उपस्थितिमा याहवेहको प्रशंसा गर्दै भने: “हे हाम्रा इस्राएलका परमेश्‍वर, याहवेह, अनन्तदेखि अनन्तसम्म तपाईंको प्रशंसा भइरहोस्।

11हे याहवेह, महानता, शक्ति, महिमा, वैभव र प्रताप तपाईंकै हुन्; किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्। हे याहवेह, राज्य, तपाईंकै हो; तपाईं सबैमाथि सर्वोच्‍च हुनुहुन्छ।

12धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्; तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ। सबैलाई उच्‍च पार्न र सामर्थ्य तुल्याउन, पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।

13अनि अब, हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ।

14“तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ।

15हामी तपाईंको दृष्‍टिमा हाम्रा सबै पुर्खाहरूझैँ परदेशी र प्रवासीहरू हौँ। यस पृथ्वीमा हाम्रा दिनहरू छायाजस्तै छन् र कुनै आशा छैन।

16हे याहवेह हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नामको खातिर मन्दिर बनाउनका निम्ति हामीले प्रबन्ध गरेका यी सबै प्रशस्त कुराहरू तपाईंकै हातबाट आएको हो, र यी सबै कुराहरू तपाईंकै हो।

17मेरा परमेश्‍वर, तपाईंले हृदय जाँच्नुहुन्छ र इमानदारीसँग तपाईं खुशी हुनुहुन्छ भनी म जान्दछु। यी सबै कुराहरू मैले राजीखुशीसाथ र साँचो मनले दिएको हुँ। अनि अहिले यहाँ भएका तपाईंका मानिसहरूले कति राजीखुशीसँग आनन्दसाथ तपाईंलाई दिएका छन्, त्यो मैले देखेको छु।

18हे याहवेह, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईंका मानिसहरूका हृदयमा यो विचार सदासर्वदा कायम राख्नुहोस्; अनि तिनीहरूका हृदय तपाईंप्रति विश्‍वासयोग्य बनाइराख्नुहोस्।

19मेरो छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका नियमहरू र उर्दीहरू पालन गर्न; अनि मैले जुटाएका यी सबै कुराले यस भवनको ढाँचा निर्माण गर्न सम्पूर्ण हृदयले गर्ने इच्छा दिनुहोस्।”

20तब दावीदले सम्पूर्ण समुदायलाई भने, “याहवेह तिमीहरूका परमेश्‍वरको प्रशंसा गर!” यसकारण तिनीहरू सबैले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे; तिनीहरूले याहवेह र राजाको सामु भुइँमा लम्पसार परेर दण्डवत् गरे।

21भोलिपल्ट तिनीहरूले याहवेहलाई बलिदानहरू र अन्‍नबलि चढाए: सारा इस्राएलको तर्फबाट एक हजार गोरु, एक हजार भेडा, एक हजार थुमा र अर्घबलिको साथमा प्रशस्त मात्रामा अरू बलिदानहरू चढाए।

22त्यस दिन तिनीहरूले याहवेहको उपस्थितिमा अति आनन्दसाथ खानपिन गरे। तब तिनीहरूले दावीदका छोरा सोलोमनलाई दोस्रो पटक राजा घोषणा गरे। अनि तिनलाई शासक हुन र सादोकलाई पुजारी हुन याहवेहको सामु अभिषेक गरे।

23यसरी सोलोमन आफ्ना पिता दावीदको स्थानमा राजाको रूपमा याहवेहको सिंहासनमा बसे। तिनी सफल राजा भए, र सारा इस्राएलले तिनको आज्ञापालन गर्थे।

24सबै अधिकारी र वीर योद्धाहरू, साथै दावीद राजाका छोराहरूले समेत तिनीहरू राजा सोलोमनको अधीनमा रहने प्रतिज्ञा गरे।

25याहवेहले सोलोमनलाई सम्पूर्ण इस्राएलको दृष्‍टिमा अति उच्‍च पार्नुभयो। अनि इस्राएलका अगिका कुनै राजाले पनि नपाएको राजकीय वैभव तिनलाई दिनुभयो।

26दावीद यिशैको छोरा सम्पूर्ण इस्राएलभरि राजा थिए।

27तिनले इस्राएलमा चालीस वर्ष राज्य गरे—हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष।

28तिनले दीर्घकालीन जीवन, धनसम्पत्ति र मान-सम्मान उपभोग गरेर पूरा वृद्ध उमेरमा मरे; अनि तिनीपछि तिनका छोरा सोलोमन राजा भए।

29दावीद राजाको शासनकालका घटनाहरू, सुरुदेखि अन्त्यसम्म दर्शी शमूएलका लेखहरूमा, अगमवक्ता नातानका लेखहरूमा र दर्शी गादका लेखहरूमा लेखिएका छन्;

30साथै तिनको शासन र शक्तिको बारेमा तिनका अरू चारैतिरका सबै छिमेकी देशका राज्यहरूमा के कस्ता परिस्थितिहरू आइपरे भन्‍ने बारेमा इस्राएल र अरू छिमेकी राज्यहरूको बारेमा पनि सम्पूर्ण विवरणहरू लेखिएका छन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath