ईसाई धर्म
पछाडि

1 इतिहास 28

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दावीदले इस्राएलका सबै अधिकृतहरू: कुलहरूमाथिका अधिकारीहरू, राजाको सेवामा रहेका दलहरूका सेनापतिहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू, राजा र तिनका छोराहरूका सम्पत्ति र गाईबस्तुका अधिकारीहरू, साथै महलका अधिकृतहरू, वीर मानिसहरू र सबै वीर लडाकुहरूलाई यरूशलेममा भेला गरे।

2राजा दावीदले उभिएर भने, “मेरा दाजुभाइहरू र मेरा मानिसहरू, मेरा कुरा सुन्‍नुहोस्! याहवेहको करारको सन्दुकको वासस्थानका र हाम्रा परमेश्‍वरको पाउदानका निम्ति एउटा भवन बनाउने मेरो हृदयमा इच्छा थियो; तब मैले भवन बनाउने एउटा योजना बनाएको थिएँ।

3तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘तैँले मेरो नामको आदरको निम्ति भवन बनाउनेछैनस्; किनकि तँ एउटा योद्धा होस्, र तैँले धेरै रगत बगाएको छस्।’ ”

4तर याहवेह इस्राएलका परमेश्‍वरले मेरा सारा परिवारबाट मलाई इस्राएलमाथि सदाका निम्ति राजा हुनलाई चुन्‍नुभयो र उहाँले यहूदाको घरानाबाट मेरो परिवारलाई चुन्‍नुभयो। मेरा पिताका छोराहरूबाट सारा इस्राएलमाथि मलाई राजा बनाउन उहाँले इच्छा गर्नुभयो।

5याहवेहले मलाई धेरै छोराहरू दिनुभएको छ। याहवेहको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न उहाँले मेरा छोराहरूमध्ये सोलोमनलाई चुन्‍नुभएको छ।

6उहाँले मलाई भन्‍नुभयो: “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ; किनभने मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु, र म त्यसको पिता हुनेछु।

7यदि त्यसले आजको दिनमा जस्तै गरी मेरा आज्ञाहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गरिरह्‍यो भने, म त्यसको राज्य सदासर्वदाका निम्ति स्थिर पार्नेछु।”

8यसकारण अब तिमीहरूलाई सारा इस्राएल र याहवेहको समुदायको दृष्‍टिमा, साथै हाम्रा परमेश्‍वरले सुन्‍ने गरी म यो जिम्मा दिँदैछु: तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरका सबै आज्ञाहरू होसियारीसाथ पालन गर्नू; ताकि तिमीहरूले यो असल देशमाथि अधिकार गर्न सक, र यस देशलाई सदाका निम्ति तिमीहरूका सन्तानका निम्ति उत्तराधिकारको रूपमा सुम्पन सक।

9“अनि तँ, हे मेरो छोरा सोलोमन, तैँलेचाहिँ आफ्ना पिताका परमेश्‍वरलाई चिनेर साँचो हृदय र सारा मनले उहाँको सेवा गर्नू; किनकि याहवेहले प्रत्येकको हृदयलाई जाँच गर्नुहुन्छ; किनकि उहाँले मनको हरेक विचार बुझ्नुहुन्छ। यदि तैँले उहाँलाई खोजी गरिस् भने तैँले उहाँलाई भेट्टाउनेछस्; तर यदि तैँले उहाँलाई त्यागिस् भने उहाँले तँलाई सधैँका निम्ति त्याग्नुहुनेछ।

10अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्‍नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।”

11तब दावीदले मन्दिरको दलानको नमुना, त्यसको सेरोफेरो, त्यसका भण्डारहरू, त्यसका माथिल्‍ला कोठाहरू, त्यसका भित्री कोठाहरू र पाप समाधान-स्थानको ठाउँको नमुनाहरू आफ्ना छोरा सोलोमनलाई दिए।

12दावीदले याहवेहको मन्दिरका चोकहरू र चारैतिरका कोठाहरू, परमेश्‍वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका चीजहरूका भण्डारहरूको नमुना, ती सबै कुराहरूको निर्माणको नमुनाहरू, जुन तिनले आत्माद्वारा पाएका थिए, आफ्ना छोरा सोलोमनलाई दिए।

13दावीदले सोलोमनलाई पुजारीहरू र लेवीहरूका दलहरूको निम्ति, याहवेहको मन्दिरमा सेवाका सबै कामका निम्ति र साथै मन्दिरको सेवामा प्रयोग गरिने सबै चीजहरूका निम्ति निर्देशन दिए।

14तिनले विभिन्‍न प्रकारका सेवाहरूमा प्रयोग गरिने सुनका सामग्रीहरू, चाँदीका सामग्रीहरूका निम्ति चाहिने सुन र चाँदीको तौल तोकिदिए।

15सुनका पानसहरू र त्यसका बत्तीहरूका निम्ति प्रत्येक पानस र त्यसका बत्तीहरूका तौल बमोजिम सुन दिए; अनि चाँदीका पानसहरूको प्रयोगअनुसार प्रत्येक चाँदीको पानस र त्यसका बत्तीहरूका निम्ति चाँदीको तौल तोकिदिए।

16पवित्र रोटी राख्नलाई प्रयोग गरिने हरेक टेबुलका निम्ति सुनको तौल, चाँदीका टेबुलहरूका निम्ति चाँदीको तौल तोकिदिए;

17काँटाहरू, छर्कने कचौराहरू, सुराहीहरूका निम्ति निखुर सुनको तौल; प्रत्येक सुनको भाँडाको निम्ति सुनको तौल; प्रत्येक चाँदीको भाँडाको निम्ति चाँदीको तौल;

18अनि धूप वेदीको निम्ति खारिएको सुनको तौल दिए। तिनले सुनको रथ बनाउने नमुना पनि तिनलाई दिए, अर्थात् पखेटा फैलाएका सुनका करूबहरू, जसले याहवेहको करारको सन्दुकमाथि छाया पार्दथे; त्यो रथ बनाउनका निम्ति चाहिने निखुर सुन दिए।

19दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।”

20दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्‍वर, मेरा परमेश्‍वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।

21परमेश्‍वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath