ईसाई धर्म
पछाडि

1 इतिहास 22

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब दावीदले भने, “याहवेह परमेश्‍वरको भवन र इस्राएलको निम्ति होमबलिको वेदी पनि यहीँ हुनुपर्छ।”

2यसकारण दावीदले इस्राएलमा बस्दै आएका विदेशीहरूलाई भेला गर्ने हुकुम दिए। अनि तिनीहरूमध्येबाट परमेश्‍वरको भवन निर्माण गर्नलाई काटेका राम्रा ढुङ्गा तयार गर्न भनी ढुङ्गा काट्नेहरू नियुक्त गरे।

3तिनले मूलढोकाहरूका निम्ति काँटीहरू र चेपुवाहरू बनाउन धेरै मात्रामा फलाम प्रबन्ध गरिदिए; अनि तौलन नसकिने मात्रामा काँसाहरू दिए।

4तिनले असंख्य देवदारुका काठहरूको पनि प्रबन्ध गरिदिए; किनकि सीदोनी र टायरवासीहरूले धेरै संख्यामा दावीदकहाँ ती काठहरू ल्याएका थिए।

5दावीदले भने, “मेरो छोरा सोलोमन कलिलै र अनुभवहीन छ; अनि याहवेहको नामको निम्ति बनाउनुपर्ने भवनचाहिँ सबै जातिहरूको दृष्‍टिमा अति विशाल, अति प्रसिद्ध र अति नै सुन्दर हुनुपर्छ। यसकारण म निर्माणको तयारी गर्नेछु।” यसकारण दावीदले आफ्नो मृत्युअगि नै व्यापक तयारी गरे।

6त्यसपछि तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए, र तिनलाई याहवेह इस्राएलका परमेश्‍वरको निम्ति एउटा भवन निर्माण गर्ने जिम्मा दिए।

7दावीदले सोलोमनलाई भने, “मेरो छोरा, याहवेह मेरो परमेश्‍वरको नामको खातिर एउटा भवन बनाउने इच्छा मेरो हृदयमा थियो।

8तर याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो: ‘तैँले धेरै रगत बगाएको छस्, र धेरै युद्धहरू लडेको छस्। त्यसैले तैँले मेरो नामको खातिर भवन बनाउनेछैनस्; किनकि मेरो दृष्‍टिमा यस पृथ्वीमा तैँले धेरै रगत बगाएको छस्।

9तर तेरो एउटा छोरा जन्मनेछ, जो शान्ति र विश्रामको मानिस हुनेछ। अनि म त्यसलाई त्यसका चारै दिशाका शत्रुहरूबाट विश्राम दिनेछु। त्यसको नाम सोलोमन हुनेछ; म त्यसको शासनकालमा इस्राएललाई शान्ति र सुरक्षा दिनेछु।

10त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसको पिता हुनेछु। अनि म इस्राएलमा त्यसको राज्यको सिंहासन सदासर्वदाका निम्ति स्थापित गर्नेछु।’

11“अब हे मेरो छोरा, याहवेह तँसँग रहून्, र तँलाई सफलता मिलोस्; अनि उहाँले भन्‍नुभएजस्तै तैँले याहवेह तेरा परमेश्‍वरको भवन बनाउनू।

12जब उहाँले तँलाई इस्राएलमाथि अधिकार दिएर राख्नुहुन्छ, तब याहवेहले तँलाई बुद्धि र समझशक्ति देऊन्, ताकि तैँले याहवेह तेरा परमेश्‍वरको व्यवस्था पालन गर्न सक।

13अनि यदि तैँले याहवेहले मोशाद्वारा इस्राएललाई दिनुभएका आदेशहरू होसियारीसाथ पालन गरिस् भने तैँले सफलता पाउनेछस्। बलियो र साहसी हो। नडरा अथवा निराश नहो।

14“मैले याहवेहको भवनका निम्ति धेरै दुःख गरेर एक लाख टालेन्ट सुन, दश लाख टालेन्ट चाँदी, प्रशस्त मात्रामा काँसो र तौलन नसकिने फलाम, र काठ र ढुङ्गा प्रबन्ध गरेको छु। तैँले त्यसमा अझै थप्न सक्छस्।

15तँसँग धेरै कर्मचारीहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू र सिकर्मीहरूका साथमा हरेक प्रकारका काममा सिपालु मानिसहरू छन्,

16अर्थात् सुन र चाँदी, काँसो र फलामका काम गर्ने असंख्य कारिगरहरू छन्। अब काम सुरु गर्, र याहवेह तेरो साथमा रहून्।”

17त्यसपछि दावीदले इस्राएलका सारा अगुवाहरूलाई आफ्नो छोरा सोलोमनलाई सहायता गर्न आदेश दिए।

18दावीदले तिनीहरूलाई भने, “के याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍न र? अनि के उहाँले तिमीहरूलाई चारैतिरबाट विश्राम दिनुभएको छैन र? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मकहाँ सुम्पनुभएको छ; अनि यो देश, याहवेह र उहाँका प्रजाहरूका अधीनमा रहेको छ।

19अब तिमीहरूका हृदय र आत्मालाई याहवेह तिमीहरूका परमेश्‍वरलाई खोज्नमा लगाओ। याहवेह परमेश्‍वरको पवित्रस्थानको निर्माण गर्न सुरु गर, ताकि याहवेहको नामको खातिर बनिने मन्दिरभित्र याहवेहको करारको सन्दुक र परमेश्‍वरका पवित्र चीजहरू तिमीहरूले ल्याउन सक।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath