ईसाई धर्म
पछाडि

1 इतिहास 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्‍यायो।

2यसकारण दावीदले योआब र सैन्यदलका सेनापतिहरूलाई भने, “जाओ, गएर बेर्शेबादेखि दानसम्मै इस्राएलीहरूको गन्ती गर; अनि आएर मलाई बताऊनू; ताकि म तिनीहरूका संख्या कति रहेछन्, म त्यो थाहा पाउन सकूँ।”

3तर योआबले जवाफ दिए, “याहवेहले उहाँको फौजलाई सय गुणा बढाऊन्। मेरा मालिक महाराजा, के तिनीहरू सबै मेरा मालिककै सेवकहरू होइनन् र? मेरा मालिकले किन यसो गर्न चाहनुहुन्छ? किन हजुरले इस्राएलमाथि दोष ल्याउनुहुन्छ?”

4तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। यसकारण योआब त्यहाँबाट निस्केर गए; र पूरा इस्राएलभरि घुमे। त्यसपछि यरूशलेममा फर्केर आए।

5योआबले दावीदलाई लडाकु मानिसहरूको संख्या बताइदिए: अनि सारा इस्राएलमा तरवार चलाउन सक्ने एघार लाख र यहूदामा चार लाख सत्तरी हजार मानिसहरू थिए।

6तर योआबले लेवी र बेन्यामीनलाई त्यस गणनामा सामेल गराएनन्; किनकि तिनलाई राजाको आदेश घृणित लागेको थियो।

7यो आदेश परमेश्‍वरको दृष्‍टिमा पनि दुष्‍ट काम थियो; यसकारण उहाँले इस्राएललाई दण्ड दिनुभयो।

8तब दावीदले परमेश्‍वरलाई भने, “मैले यो काम गरेर ठूलो पाप गरेको छु। अब म तपाईंलाई बिन्ती गर्दछु, आफ्नो सेवकको दोष क्षमा गरिदिनुहोस्, किनकि मैले ठूलो मूर्ख काम गरेको छु।”

9याहवेहले दावीदका भविष्यवक्ता गादलाई भन्‍नुभयो,

10“जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”

11यसकारण गाद गएर दावीदलाई भने, “याहवेह यसो भन्‍नुहुन्छ, ‘तैँले यीमध्ये एउटा चुन्:

12तीन वर्षको अनिकाल, अथवा तीन महिनासम्म तेरा शत्रुहरूका तरवारद्वारा विनाश भइरहनु, अथवा तीन दिनसम्म देशमा याहवेहको आफ्नो तरवारद्वारा विपत्ति ल्याइनु, अथवा याहवेहको दूतद्वारा इस्राएलका हरेक ठाउँमा विनाश आइलाग्नु।’ अब मैले आफूलाई पठाउनुहुनेकहाँ के जवाफ दिने, त्यो निर्णय दिनुहोस्।”

13दावीदले गादलाई भने, “म ठूलो सङ्कष्‍टमा परेको छु। मलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”

14यसकारण याहवेहले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र इस्राएलमा सत्तरी हजार मानिसहरू मरे।

15परमेश्‍वरले यरूशलेमलाई नाश गर्नलाई एक जना दूत पठाउनुभयो। तर त्यस दूतले नष्‍ट गरिरहेको बेला याहवेहले देख्नुभयो, र त्यस विपत्तिको कारण उहाँ दुःखी हुनुभयो; अनि मानिसहरूलाई नाश गरिरहेका दूतलाई भन्‍नुभयो, “भयो, अब आफ्नो हात रोक।” त्यस बेला याहवेहका दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।

16दावीदले आफ्ना आँखा मास्तिर उठाउँदा याहवेहका ती दूतले हातमा थुतेको नाङ्गो तरवार यरूशलेममाथि पसारेर स्वर्ग र पृथ्वीको बीचमा उभिरहेका देखे। तब दावीद र प्रधानहरू भाङ्ग्रा लगाएर भुइँतिर घोप्टो परे।

17दावीदले परमेश्‍वरलाई भने, “के लडाकु मानिसहरूको गन्ती लिनु भनेर आदेश दिने म होइन र? म गोठालोले पाप गरेको हुँ, र मैले नै गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। यिनीहरूले के गरेका छन् र? हे याहवेह मेरा परमेश्‍वर, तपाईंका हातका विपत्ति म र मेरा परिवारमाथि परोस्, तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नपरोस्।”

18त्यसपछि याहवेहका दूतले गादलाई यसो भन्‍ने आज्ञा दिए, दावीद यबूसी अरौनाको खलामा जाओस् र याहवेहका निम्ति एउटा वेदी बनाओस्।

19यसकारण गादले याहवेहको नाममा भनेका कुरा पालन गरेर दावीद माथि उक्लेर गए।

20त्यस बेला अरौनाचाहिँ गहुँ कुटिरहेका थिए। तब तिनी फनक्‍क फर्के, र दूतलाई देखे; तिनीसँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।

21जब दावीद अरौनाकहाँ गए, तब अरौनाले तिनलाई आइरहेको देखे। तिनी खला छोडेर गए, र तिनको सामु भुइँतिर घोप्टो परेर दण्डवत् गरे।

22दावीदले तिनलाई भने, “मलाई तिम्रो खलामा ठाउँ देऊ, ताकि म याहवेहका निम्ति एउटा वेदी बनाउन सकूँ, र मेरा मानिसहरूमाथि आएको विपत्ति थामियोस्। मलाई पूरा दाममा खला बेच।”

23अरौनाले दावीदलाई भने, “हजुरले यो खला लिनुहोस्! अनि मेरा मालिक राजालाई जे असल लाग्छ, त्यही गर्नुहोस्। म होमबलिहरूका निम्ति गोरुहरू, दाउराका निम्ति दाइँ गर्ने काठहरू, र अन्‍नबलिको निम्ति गहुँ दिनेछु; म यी सबै चीजहरू दिनेछु।”

24तर राजा दावीदले अरौनालाई जवाफ दिए, “होइन, म पूरा मूल्य दिनेछु; म याहवेहका निम्ति तिम्रो कुनै पनि चीज, अर्थात् बलिदानका निम्ति होमबलिहरू सित्तैँमा लिनेछैनँ।”

25यसकारण दावीदले अरौनालाई त्यस खलाका निम्ति छ सय सेकेल सुन दिए।

26त्यहाँ दावीदले याहवेहका निम्ति एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए। तिनले याहवेहलाई पुकारे; तब याहवेहले होमबलिको वेदीमा स्वर्गबाट आगो बर्साएर दावीदलाई जवाफ दिनुभयो।

27त्यसपछि याहवेहले दूतसँग कुरा गर्नुभयो, र तिनले आफ्नो तरवार म्यानभित्र हाले।

28त्यसै बेला जब दावीदले यबूसी अरौनाको खलामा याहवेहले तिनलाई जवाफ दिनुभएको देखे, तब तिनले त्यहीँ बलिहरू चढाए।

29त्यस बेला मोशाले उजाडस्थानमा बनाएको याहवेहको समागम पाल र होमबलिको वेदी गिबोनको अग्लो ठाउँमा थिए।

30तर दावीद परमेश्‍वरसँग सल्‍लाह लिन त्यसको सामु जान सकेनन्; किनकि तिनी याहवेहका दूतको तरवारदेखि डराएका थिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath