ईसाई धर्म
पछाडि

1 इतिहास 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1केही समयपछि, अम्मोनीहरूका राजा नाहाशको मृत्यु भयो, र तिनीपछि तिनका छोरा राजा भए।

2दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए। जब दावीदका मानिसहरू अम्मोनीहरूको देशमा हानूनकहाँ तिनलाई सहानुभूति देखाउन आए,

3तब अम्मोनी भारदारहरूले हानूनलाई भने, “के तपाईं दावीदले तपाईंकहाँ सहानुभूति दर्शाउन मानिसहरू पठाएर तपाईंका पितालाई सम्मान दिइरहेका छन् भनी ठान्‍नुहुन्छ? होइन, तिनका मानिसहरू यस देशको भेद लिन र यस देशलाई परास्त गर्नलाई तपाईंकहाँ आएका हुन्।”

4यसकारण हानूनले दावीदका राजदूतहरूलाई पक्रे, तिनीहरूका दाह्री खौरिदिए, तिनीहरूका लुगा जाँघसम्म काटिदिए; र तिनीहरूलाई पठाइदिए।

5जब कसैले आएर दावीदलाई ती मानिसहरूको बारेमा भनिदिए, तब तिनले उनीहरूलाई भेट्न दूतहरू पठाए; किनकि तिनीहरूको ठूलो अपमान भएको थियो। राजाले भने, “तिमीहरूका फेरि दाह्री नबढुन्जेल यरीहोमै बस्‍नू, त्यसपछि मात्र फर्कनू।”

6जब अम्मोनीहरूले आफूहरू दावीदको दृष्‍टिमा घृणित भएको थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नहरैम, अराम-माका र सोबाबाट रथहरू र घोडचढीहरू भाडामा लिनलाई एक हजार टालेन्ट चाँदी पठाए।

7तिनीहरूले बत्तीस हजार रथहरू र घोडचढीहरू, साथै माकाका राजालाई तिनका सेनासँगै भाडामा लिए, जसले आएर मेदेबा सहरको छेउमा छाउनी हाले। अम्मोनीहरू चाहिँ तिनीहरूका सहरहरूबाट भेला भएर लडाइँको निम्ति निस्किए।

8यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए।

9अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए; अनि तिनीहरूसित आएका अरू राजाहरूचाहिँ खुला मैदानमा लडाइँको निम्ति आफ्नो स्थान लिए।

10योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।

11तिनले बाँकी रहेका सेनाहरूलाई आफ्ना भाइ अबीशैको अधीनमा दिए; अनि तिनीहरूलाई अम्मोनीहरूको विरुद्धमा खटाए।

12योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउनेछु।

13साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्‍टिमा जे असल छ, त्यो गर्नुहुनेछ।”

14तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे।

15जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि तिनका भाइ अबीशै र तिनका सेनाहरूको सामुबाट भागेर सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्केर गए।

16जब अरामीहरूले आफूलाई इस्राएलद्वारा परास्त गरिएको देखे, तब तिनीहरूले दूतहरू पठाएर अरू अरामी सेनाहरूलाई यूफ्रेटिस नदी पारिबाट झिकाए। त्यसको नेतृत्वचाहिँ हददेजेरको सेनाको सेनापति शोपकले गरिरहेका थिए।

17जब यो कुरा दावीदलाई भनियो, तब तिनले सारा इस्राएललाई भेला गराएर यर्दन नदी तरे; दावीद उनीहरूको विरुद्धमा अगि बढे, र तिनीहरूको विरुद्धमा युद्धको मोर्चा बाँधे। दावीदले अरामीहरूसँग युद्ध गर्नलाई आफ्नो पङ्‌क्ति बाँधे, र तिनीहरूले दावीदको विरुद्धमा युद्ध गरे।

18तर अरामीहरू इस्राएलको सामुबाट भागे; अनि दावीदले तिनीहरूका सात हजार रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। दावीदले तिनीहरूका सेनाका सेनापति शोपकलाई पनि मारे।

19जब हददेजेरका अधिकारीहरूले आफूहरू इस्राएलद्वारा परास्त भएको देखे, तब तिनीहरूले दावीदसँग सन्धि गरेर तिनका अधीनमा बसे। यसकारण अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्नलाई राजी भएनन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath